राजनीतिको टर्निङ प्वाइन्ट बन्न सक्छ बालेनले बालेको दियो
feather icon प्रकाशन मिती:२०७९ साउन २५ गते

प्रवासमा लामो समयसम्म भए पनि हरेक दिन नेपाली राजनीति, हुर्केको गाउँठाउँ र शहरको चासो लागिरहन्छ । योपल्टको स्थानीय तहको निर्वाचनलाई पनि चासो दिएर मुख्य त युट्युब अन्तर्वार्ता, अनलाइन पत्रपत्रिका र सामाजिक सञ्जालबाट नियालिरहियो । चुनावमा छिटपुट हिंसा र अनियमितता भए पनि जसरी सम्पूर्ण देश चुनावमा होमियो र प्रजातान्त्रिक अभ्यासमा नयाँ संविधान अनुसार एक आवधिक निर्वाचन भयो, त्यो एकदमै सकारात्मक उपलब्धि हो । त्यसका लागि वर्तमान सरकारलाई धन्यवाद दिनैपर्छ ।

चुनावमा उम्मेदवार छनोट, घोषणापत्र अनि गठबन्धन गर्ने संस्कृतिको चिरफारबाट सुरु गरौँ । सबैभन्दा पहिला त पुराना भनिएका सबै ठूला पार्टीमा उम्मेदवार छनोटमा नातावाद, कृपावाद टड्कारै देखियो । आफ्नै छोरा, छोरी, श्रीमती र जतिसुकै जनताले मन नपराउने विवादित व्यक्तिहरूलाई पनि सेटिङ मिलाएर पार्टीहरूले टिकट दिएको देखियो । देश र जनताको सेवा, सुशासन गर्ने क्षमता, युवा पिँढीको माग, महिलाहरूप्रतिको सम्मान र संवेदनशीलतालाई बेवास्ता गरियो । कुनै पनि सच्चा राष्ट्रप्रेमीले लाभको पदमा मेरै आफन्त हुनुपर्छ भन्दैन । देशको सेवा गर्न अरु धेरै तरिका र अवसर अवलम्बन गर्न सकिन्छ । तर, यस्तो विचलन मुख्य पार्टीमा शीर्ष तहका नेताहरूमै देखियो ।

चुनावी नारा र गठबन्धन पनि कुनै सिद्धान्त वा भविष्यका कार्ययोजनाअनुरूप नभएर कसले कसलाई हराउने भनेर गरिएको देखियो । देश र जनताले जित्नेभन्दा पनि कुन नेता र पार्टीले जित्ने भन्नेमै बढी केन्द्रित देखियो । चुनावी भाषणको स्तर पनि साह्रै न्यून देखियो । त्यसमा समस्याहरूको समाधान र योजनाभन्दा पनि अरुलाई तल्लो स्तरमा खसालेर गालीगलौज गर्ने नै बढी थिए । यसपालि घोषणापत्रहरू अलि पत्यारिला बनाइएको भने पक्कै हो ।

मुख्य पार्टीहरूका यिनै नाकामीले गर्दा स्वतन्त्र तथा पार्टीका ठालु नेताहरूको उर्दी नमान्ने चेतनशील बागी उमेदवारहरूले राष्ट्रिय राजनीतिमा तरंग ल्याए, चाहे काठमाडौँमा बालेन साह हुन्, वा चितवनमा जगन्नाथ पौडेल, धरानमा हर्क राई हुन् वा धनगढीमा गोपाल हमाल, नेपालका पुराना र ठूला भनाउँदा पार्टी र शीर्ष नेताहरूको हैकमविरुद्ध स्पष्ट जनमत देखिएको छ । यो परिदृश्य नेपाली राजनीतिको टर्निङ प्वाइन्ट हुन सक्छ भन्ने मलाई लाग्छ ।

यसको मुख्य कारण अहिलेको पुस्ताको सोच पुराना दलका शीर्ष तथा वृद्ध नेताले नबुझ्नु नै हो भन्ने बालेनलगायत अन्य स्वतन्त्र उम्मेदवारतर्फ मोडिएको जनमतले प्रस्ट पारेको छ । केपी ओली, शेरबहादुर देउवा, प्रचण्डले सोचेका थिए होलान्– जस्तो उम्मेदवार दिए पनि काठमाडौँमा जित्ने हामीले नै हो । जे बोले पनि हामी नै सर्वेसर्वा । तर, वास्तविकता त्यस्तो रहेन ।

बालेन साहले जसरी आफ्नो क्याम्पियनको तयारी गरे, त्यो साँच्चिकै मोडर्न, युवाहरूको मन जित्ने र प्रभावकारी पनि थियो । उनले विज्ञहरूसँग भेटेर प्लान मात्र बनाएका होइनन, सर्वेक्षण गरेर, डाटा र तथ्यांकअनुसार समर्थक परिचालन, मिडियामा जाने, विल्कुल सकारात्मकता मात्र देखाउने र युवाको मन जित्दै पूरै परिवारहरूको मन जित्ने रणनीति बनाए । होला, उनले पाएको मत कतिपय अरुप्रति वितृष्णाको मत थियो होला तर त्यो पोख्न अरु पनि स्वतन्त्र उम्मेदवार थिए । तर, बालेनको जस्तो मिहिनेत, तयारी र सक्षमता अरुको देखिएन ।

हुने बिरुवाको चिल्लो पात भनेझैँ बालेन मेयरमा पनि सफल हुन्छन् भन्ने मेरो अड्कल छ । उनी मेयरमा सफल भए वा नभए पनि अबका दिनहरूका लागि नेपाली राजनीतिको अन्धकारमा बालेनले एउटा दियो बालेका छन् । युवाहरूलाई एक नमुना प्रस्तुत गरेका छन् । स्वर्गीय उज्वल थापाको सपना 'युवा अघि सर्छ, देश अघि बढ्छ' को मर्मलाई उजागर गरेका छन् । देशको राजनीति सुधार्छु भनेर एक होनहार युवा अघि बढेका छन् र सफलता हासिल गर्दै छन् । यो धेरै सक्षम युवाहरूका लागि प्रेरणाको स्रोत हुनेछ । पुराना पार्टीहरूलाई पनि यसले दबाब दिनेछ । र, पुराना पुस्ताका परीक्षित र असक्षमहरू बिस्तारै विस्थापित हुनेछन् ।

सम्झन लायक अर्को कुरा के छ भने, रवीन्द्र मिश्र पनि यसरी नै केही वर्षअघि आसलाग्दो तरिकाले वैकल्पिक राजनीतिमा होमिएका थिए । यसपालि उनको पार्टीले खासै राम्रो गर्न नसकेको सत्य हो । तैपनि उनको पार्टीले उठाएका सबैजसो उम्मेदवार साँच्चै नै राम्रा थिए । आफ्नै पार्टीभित्रको आन्तरिक किचलोले गर्दा विवेकशील साझा पार्टीप्रति पनि जनता निराश देखिएका छन् । तैपनि पुराना पार्टीको तुलनामा अझै पनि विवेकशील साझा परीक्षित नभएकाले तुलनात्मक रूपमा आशा गर्न लायक नै छ ।

यहाँ खेदजनक के छ भने, जसरी पुराना पार्टीहरू फुटेपछि एकअर्कालाई र नेतृत्वलाई तथानाम गालीगलौज गर्ने प्रवृत्ति छ, त्यो विवेकशील साझाबाट छुट्टिएका समूहहरूमा पनि देखियो । त्यो मूलत: अलि युवाहरूमै देखियो । साझाबाट पनि सूर्यराज आचार्य, मुमाराम खनालहरू छुट्टिएका थिए तर उहाँहरूको रचनात्मक आलोचना र टिप्पणी गालीगलौज नभएर परिपक्व लाग्छ । तर, मिलन पाण्डेलगायतका अन्य नेता र सामाजिक सञ्जालमा उहाँका समर्थकहरूको रवीन्द्र मिश्र र संस्थापन साझा विवेकशीलप्रतिका टिप्पणीहरू अत्यन्तै अपरिपक्व लाग्छन् ।

सायद स्वर्गीय उज्वल थापा भएको भए त्यस्तो हुन्नथ्यो होला । विवेकशील नामधारण गर्दैमा विवेकशील हुने होइन । राजनीतिक सुझबुझ र संस्कार पनि देखाउनुपर्छ । हो, मिश्रले राजनीतिक पोजिसन परिवर्तन गरेका हुन् । त्यसमा सम्मानजनक आपत्ति राख्न सकिन्छ तर त्यसकै निहुँमा वैकल्पिक राजनीतिलाई नै खुइल्याउनु हुँदैन । कसैको पनि नकारात्मक कुरा नगरी सबैको मन जित्ने बालेनबाट पनि केही सिक्न सकिन्छ । वैकल्पिक शक्ति मानिएका युवाहरूमा पुरानै पार्टीहरूको संस्कार देखिनु बढी चिन्ताजनक छ ।

मिश्रको 'विचारभन्दा माथि देश'लाई राजनीतिमा नखारिएका युवाले अलि नबुझेजस्तो लाग्छ । पुराना पार्टीको सिन्डिकेटले त 'प्रतिगमन' को बिल्ला भिराउने प्रोपोगान्डा गरिहाल्छ । त्यही प्रोपोगाण्डा पत्याउनुभएन । वर्षौंसम्म जनतालाई विभाजित गरेर विकासको सिन्को भाँच्न नसक्ने असफल पुराना पार्टी प्रतिगमनकारी हुन् । विधिको शासनलाई मूलमन्त्र मानेर भ्रष्टाचारमुक्त समाज र समृद्ध नेपाल बनाउँछौँ भनेर राजनीति गर्ने विवेकशील साझा प्रतिगमनकारी होइन ।

विश्वमा हजारौँ विचारका पार्टी छन् । धेरै विकसित देशमा पनि एकैखाले विचार छैनन्, तर सुशासन, भ्रष्टाचार नियन्त्रण र इमानदारीले गर्दा ती देशको विकास भएको हो । त्यसैले भोलिका दिनमा इमानमा प्रश्न उठ्यो भने मात्र नत्र विवेकशील साझालाई अझै अनि शंकाको लाभ दिनुपर्छ । रवीन्द्र मिश्रको पार्टीले विधिवत् नीति ल्याएको हो, जनतालाई भन्ने एउटा, गर्ने एउटा गरेको होइन । त्यसैले उनलाई छद्‌मभेषी आरोप लगाउनु राजनीतिक असहिष्णुता हो ।

केही स्वतन्त्र उम्मेदवारले जित्नु राम्रो संकेत हो । तर, उनीहरूले पनि भविष्यमा अर्को चरणमा पार्टी बनाएर, चुनाव चिह्न लिएर, प्रक्रियागत सुधारतिर नलागी पार लाग्दैन । यो चुनावमा ठूलो धक्का लागे विवेकशील साझा सही बाटोमा नै छ । उसले हदैसम्म लचिलो र फराकिलो भएर मोर्चा कस्दै जानुपर्ने देखिन्छ । पार्टी एकता वा सिद्धान्तमा भन्दा सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता र इमानदार सेवालाई मुख्य सहमतिको बिन्दु बनाएर जानुपर्ने देखिन्छ । अझै पनि विवेकशील साझा आशा गर्न लायक शक्तिहरूमा प्रमुखको हो भन्ने मलाई लाग्छ । यद्यपि राजतन्त्र फर्काउने एजेण्डा मलाई मन पर्दैन । तर सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता र इमानदार सेवालाई सबैले मुख्य एजेण्डा बनाउँछन् भने राजेन्द्र लिङ्देनको पार्टीसँग मोर्चा बन्यो भने पनि मलाई आपत्ति हुने छैन । त्यो राजनीतिक शक्तिआर्जनको रणनीति हो । त्यो गर्न नसक्नेले राजनीतिक सफलता र आफ्नो एजेण्डा लागू गर्न पनि सक्दैन ।

यी त भए अहिलेका जल्दाबल्दा विषयप्रतिको टिप्पणी, सँगसँगै केही समस्या समाधानका कुरा पनि । अहिलेका पार्टीहरूमा नेता छान्नेदेखि उम्मेदवार छान्ने कार्यमा एकदमै अप्रजातान्त्रिक पद्धति अपनाएको देखिन्छ । कुनै पनि होनहार युवा कुनै पार्टीको शीर्ष तहमा पुग्न सक्दैन । त्यसको समाधान भनेको पार्टीको नेतृत्व चयनमा सबै खुला सदस्यले भोट गर्ने (Open Primary) । अहिलेको विद्यमान पद्धतिमा नेताले प्रतिनिधि छान्ने, अनि तिनै प्रतिनिधिले उनै पुराना नेतालाई छान्ने प्रवृत्ति छ । यदि सम्पूर्ण खुल्ला सदस्यले भोट गरेर नेता छानिने हो भने हरेक पार्टीमा युवाको विजय सम्भव हुन्छ ।

अर्को भनेको कुनै पनि शीर्ष तहको नेतृत्वमा एकै व्यक्ति दुईपल्टभन्दा बढी बस्न नपाउने नियम बनाउनुपर्ने देखिन्छ । यस्तो नियम नबनाउने हो भने सर्वसत्तावादी सोच भएका व्यक्तिले वर्षौंवर्ष पार्टी कब्जा गरेर बस्छन् । त्यस्ता नेताले राजनीतिलाई आफू र आफूवरिपरिका मान्छेलाई पोस्ने पेसा बनाएका हुन्छन् । त्यस्ता नेताबाट देशको परिवर्तन सम्भव छैन ।

नेपालमा स्वर्गीय उज्वल थापा मात्र एक त्यस्ता नेता हुन्, जसले आफ्नो कार्यकालपछि सर्लक्क छोडेर मिलन पाण्डेजस्ता युवालाई पार्टीको नेतृत्व हस्तान्तरण गरे । यो नियम हरेक पार्टीमा मात्र नभएर देशको राष्ट्रपति, प्रधानमन्त्रीमा पनि कुनै व्यक्ति दुईपल्ट भन्दा बढी बस्न नपाउने नियम बनाइनुपर्छ । त्यसो भयो भने मात्र नेतृत्व परिवर्तन भइरहन्छ र अवसर पाउनेले साँच्चै केही गरौँ भन्ने भावना जाग्छ । अनि प्रधानमन्त्री बनेपछि अलि स्थायी र लामो कार्यकालकै लागि बन्न जोड हुन्छ । किनकि दुईपल्ट मात्र बन्न पाउने भएपछि आधा कार्यकाल मात्र बन्न सत्ताको लुछाचुँडी हुँदैन ।

भारतमा एउटै मात्र प्रधानमन्त्री मोदी हुँदा हाम्रो देशमा चार व्यक्ति प्रधानमन्त्री– सुशील कोइराला, केपी ओली (दुईपल्ट), पुष्प कमल दाहाल, शेरबहादुर देउवा (दुईपल्ट) र पाँचपटक सत्ता परिवर्तन भएको छ । मन्त्रीहरू त कति हो कति । सत्ताको एक/दुईवर्षे कार्यकाल मात्र हुनु र छ/छमहिने प्रधानमन्त्री/मन्त्रीहरूले देश दोहन गर्नु राष्ट्रका लागि घातक हो ।

अर्को कुरा, चुनाव त भयो तर मतगणनाको सुस्त गति हेर्दा चुनावपछिको व्यवस्थापनलाई सजिलो गर्न पनि डिजिटल भोटिङ मेसिन र स्वयम्‌सेवक परिचालनमा अलि ध्यान दिनुपर्ने देखिन्छ  ।

यी सबै पार्टीका विधान र संविधान संशोधन प्रारम्भिक योजनाबाटै गर्न सकिने कुराहरू हुन् । अरु पनि सुधार गर्नुपर्ने धेरै कुरा छन् तर कतिपय विषय अलि गहिराइमा जानुपर्ने हुन्छ । जेहोस्, यो स्थानीय चुनावको मतगणना करिब अन्तिम चरणतिर पुगेको छ । पछिल्लो मतपरिणामअनुसार यसपालिको स्थानीय चुनावले परिवर्तनको शंखघोष गरेको छ । आशा छ, यो परिदृश्यले नेपाली राजनीतिक आयाम फेर्नेछ । संविधान आयो, व्यवस्था परिवर्तन भयो, अब सुझबुझ र सक्षम युवाहरूको अग्रसरताले मात्र देशको अवस्थामा परिवर्तन ल्याउनेछ भन्ने आशा गराौँ । बालेनलगायत सम्पूर्ण स्वतन्त्र युवा, परिवर्तनको मत दिने जनता, वैकल्पिक राजनीतिका अभियन्ता र सम्पूर्ण नेपालीहरूलाई बधाई तथा शुभकामना ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016