चेलीको पीडा
feather icon प्रकाशन मिती: २०७२ माघ १६ गते

दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाउ अँझै फर्केका थिएनन् । तीन जना बहिनी मुनि जन्मिएको भाइ पनि अहिले पाटि बोकेर स्कुल जान सक्ने भएको थियो । दिनभरि साहुको मेलामा मुजुरा गरेर बेलुका घर फर्किदा चोयाको डोको कम्मरमा बार हाते पटुका, खद्दडको सारी, उनीको पछ्यौरा, नाम्लो लगाएर बोकेकी तामाको गाग्री, उकाली ओरालीमा छचल्कीँदै पोखीने त्यो पानी, डोकाका प्वाल जस्तै भएको ती ढाकाका चोलीका पाटाहरू अनि भिजेका ती कपडा, सुईँया सुस्केरा हाल्दै पिँढिमा पानीको गाग्री बिसाँउदा मिनाकी आमालाई रातको १० बज्ने गर्थ्यो ।

भाइ बहिनी आमाको बाटो हेर्दा हेर्दै भोकै निदाउँथे । साहुको मेलामा खान दिएको ‘अर्नी’ सबैका आँखा छलेर पटुकीमा लुकाएर ल्याउने गर्थिन् मिनाकी आमाले । केही घरबारी थियो, मुस्किलले ६ महिना खान पुग्थ्यो । बाउको कुनै खबर थिएन । नत पैसानै आउथ्यो नत कुनै हालखबर नै । साना-साना भाइ बहिनीको जिम्मेवारी मीनाको काँध माथि थियो । उनी भर्खर १६ वर्षकी मात्र भएकी थिइन् । भर्खरैँ वैँशले गाला राता हुने बेला थियो तर गरिबी र जिम्मेवारीको बोझले उनलाई चालिस वर्षे आइमाई बनाइदिएको थियो ।

जेन तेन पाँच कक्षासम्म पढेकी हुँदा भाइ बहिनीलाई कखरा चिनाउन सजिलो भएको थियो उनलाई । कसरी दुई-चार पैसा कमाउँ र आमा- भाइ बहिनीलाई पेट भरि खुवाउँन सकुँ भनेर सोच्नु उनको बाध्यता थियो । यसै क्रममा पल्लो गाउँमा एक जना लाहुरे आएको खबर सुनिन् । कतै आफ्नो बाउको कुनै खबर पो पाइन्छ कि भनेर मनभरी आशाको दियो बाल्दै लाहुरेको घरसम्म पुगिन् ।

कहिलेकाहीं मुजुरा गर्न जाँदा चिनेको मुखिया बाजेको छोरा पो आएको रहेछ । बाउको खबर त थिएन । लाहुरबाट ल्याएको मिठा-मिठा खानेकुरा र मरमसला भने मुखिनी बजैले सुटुक्क लुकाएर मिनाको हातमा थमाइदिइन् । घरमा बोलाउने नाम बिर्खे भएपनि लाहुर गए पछि आफ्नो नाम विश्वास राखेको रै’छ मुखियाको छोराले । गोरो बाटुलो बान्की परेको अनुहार दुवै गालाका पाटा रगत चुहिएलान् जस्तै राता-राता थिए भने ठुला-ठुला आँखा, अनार झैँ मिलेका दाँतका पंक्तिहरू, पुस्ट छाती, हर्लक्कै बढेको जवानी, साँच्चै मिना स्वर्गकी परि जस्तै देखिन्थिन् । बिर्खेको आँखा मीनाको फक्रँदै गरेको यौवनमा गएर टक्क अडिए ।

सर्लक्क परेको शरिर अग्लो राम्रो देखिन्थ्यो बिर्खे पनि । लाहुरे न पर्यो के कम । लाहुर तिरका रमाइला कुराहरू सुनाउँदै मिनाको मन जित्न थाल्यो । केही छिनपछि मिना आफ्नो घर फर्किन् । बिर्खे र मिनाको भेटघाटको क्रम बढ्न थाल्यो । उनीहरू एक आपसमा नजिकिदै गए । बिर्खेले भारतको बारेमा रमाइला कुरा गर्दा मिना अचम्म मानेर सुन्न थालिन् । विकट गाउँमा जन्मेकी मिना मोटर, गाडी, बिजुली, ठुला-ठुला महल भनेको कस्तो हुन्छ ? उनलाई पत्तै थिएन । बिर्खेले पनि मिठा-मिठा सपना देखाउँदै मिनाको मन जित्तै गयो । यता गरिबीको चपेटामा च्यापिएर बस्दाको उकुसमुकुस जिन्दगी थियो भने उता लाहुरमा राम्रो लाउन मिठो खाना पाउने आश देखाएर आफ्नो प्रेम जालमा मिनालाई फसाउँदै गयो ।

लाहुर गएर मिनालाई राम्रो नोकरी लगाई दिने र आफ्ना भाइ बहिनीको जिम्मेवारी निभाउँदै अलि ठुला भए पछि मात्र बिहे गर्ने विश्वास दिलाएपछि मिनाले पनि इन्कार गर्न सकिनन् । लाहुर जान पाए कतै बाबासँग पनि भेट हुन सक्ने र दुई-चार पैसा कमाएर आफ्नो परिवारको मुखमा माड लाग्न सक्ने सम्भावना देखेपछि मन भरि सपना बुन्न थालिन् । घर चलाउनमा मिनाको अपरिहार्य भूमिका थियो । कहिले घर नछोडेकी सोझी मिनालाई बिर्खेको साथमा पठाउन आमा राजी थिइनन्, नत मुखियाको परिवारले नै स्वीकार्ने अवस्था थियो ।

मिठो लाउने राम्रो खाने सपनामा मिना बिर्खेसँग भागेर लाहुर जाने र धेरै पैसा पनि कमाउने अनि आमा र भाइ बहिनीलाई सुखी जीवन दिलाउने अठोट गरिन् । कहिल्यै घर नछोडेकी मिना एक नौलो दुनियाँमा कदम राख्दै थिइन् । मनमा अनेक शंका-उपशंका, खुसी कौतुहल र आफन्तबाट छुटिनुको पीडाले रातभर निदाउनै सकिनन् । बिहानको प्रहर कुखुरी बास्नु अगावै मिना घरबाट निस्किन् । डाँडाको चौतारीमा बिर्खे कुरेर बसेको थियो । दुवैजना भेट भए अनि भन्ज्यांगको बाटो ओरालो लागे । दिनभरको हिँडाई पछि गोधुलि साँझको झिस्मिसे उज्यालो रहँदै बस चड्ने ठाउँ सुर्खेत बजारमा आइपुगे ।

मिना पहिलो पटक शहरमा आएकी हुँदा ती ठुला-ठुला घर बजार मोटर गाडी देख्दा छक्क परेर हेरिरहिन् । कतै लाहुर भनेको यही त हैन ? बिर्खे उर्फ विश्वासले मिनालाई जिस्काँउदै भन्यो मिनु यही बजारमा तिमीलाई एक्लै छोडेर गए भने कसो गर्छौ नि ? यति सुन्दा मिना डराउँदै ‘मलाई कहिले कतै एक्लै छोडेर नजानुस है’ भनेर बिर्खेलाई च्याप्प अँगालोमा बाँधिन् । विश्वासले ‘ए काली किन डराएकी ? मैले त हाँसो पो गरेकोनि’ भन्दै मिनालाई फकाउन थाल्यो । यत्तिकैमा नेपालगञ्ज जाने बस छुट्नै लागेको थियो । दुवै जना बीचको सिटमा बसे । जब बस छुट्यो मिना डरले आँखा चिम्म पारिन् । दोहोरी गीत गुन्जिएको थियो । बसमा निकै नौलो अनुभूति बटुल्दै मिना झ्याल बाहिर चिहाउन थालिन् ।

उता मिनाको घरमा बिहान मिनालाई नदेखेपछि आमा र भाइ बहिनी धेरै चिन्तामा थिए । बिर्खे पनि घरमा नभएको कारण दुवैजना भागेको अनुमान लगाएका थिए ।

नेपालको सीमाना कटाउन गाह्रो हुने हुँदा विवाहित जोडी जस्तो भेषमा टीका पोते सिन्दुर र सारी लगाएर सीमा काटे । भारतमा जता सुकै झिलिमिली शहर रेलमा चढेर गरेको यात्रा स्वर्गभन्दा कम लागेको थिएन मिनालाई । निकै खुसी देखिन्थिन् । चाइनिज माटोको कपमा तातो-तातो चिया सुरुप्प पार्दै गन्तव्यको कल्पनामा हराउँदै गर्दा कति छिटो बम्बई शहर पनि आइ पुगेछ । बिहानको ५ बजे रेल स्टेसनमा उत्रिए । मान्छे नै मान्छेको भीड खुट्टा राख्ने ठाउँ कतै थिएन । न आफ्नो भाषा न भेष । कता-कता नौलो र एक्लोपनको आभास भएको थियो मिनालाई । अब कहाँ जाने के गर्ने मेसो मेलो थिएन यति बेला । आफ्नो गाउँ घरको सम्झना आयो र आँखा रसाए । गहभरि आँसु लिदै बिर्खेसँग भनिन् ‘भो नेपालनै फर्कौँ है’ ।

कति खर्च गरेर के कति जाल रचेर बम्बई ल्याएको थियो बिर्खेले । मिठा सपना देखाउदै भन्यो ‘लाटी के को नेपाल फर्किने नि ?तिम्रो बाबा पनि यही हुनुहुन्छ यो त लाहुर हो । अब धेरै पैसा कमाउन पर्छ । तिम्रो बाबालाई खोज्न जाउँ है पहिला’ भन्दै ट्याक्सीमा चढेर लगभग एक घन्टाको यात्रा गरे । त्यो एक घण्टा बिर्खे फोनमा कुरा गर्दै थियो । हिन्दी भाषा हुँदा मिनाले बुझ्न सकिनन् । निकै उत्साहित मुन्द्रामा गफ गर्दै थियो । अब गन्तव्य पनि आइ पुगेछ । दुवैजना ट्याक्सीबाट ओर्लिए । साँघुरो गल्लीको बाटो हुँदै करिब १५ मिनेटको पैदल यात्रा पछि एउटा घरमा पुगे । एक अधवैँशे मोटी महिलाले ढोका खोल्दै भित्र पस्ने अनुमति दिइन् । दुवै जना भित्र पसे । मिनालाई त्यो ठाउँ अनौठो लागेको थियो । बिर्खे र ती महिला खस्याङ्ग-खुसुङ्ग के-के कुरा गर्दै थिए । यत्तिकैमा एक महिलाले मुसुक्क हाँस्दै चिया लिएर अगाडि राखिदिइन् । ‘मिनु तिमी चिया पिउँदै गर म बाथरूम गएर आउँछु ल’ भन्दै बिर्खे निस्केर हिँड्यो । धेरै बेरसम्म बिर्खे फर्केर नआएपछि मिना अतालिँदै इसाराको भरमा ती मोटी महिलासँग सोधिन ‘मसँग आएको मेरो साथी खै त ?’

‘अब उनी फर्केर आउँदैनन्, तिमीलाई बेचेर गएँ । यहा आउने ग्राहकलाई खुसी पार्नु पर्छ तिमीले, लौ यिनी कपडा लगाएर तयार भएर बस’ भन्दै ती मोटी महिला मुखमा पान चपाउँदै बेचिएकी अर्की महिलालाई पुकार्दै मिनालाई तयार पार्न र काम सिकाउने अनुमति दिइन् । यस्तो कुरा मिनाले स्पष्ट रुपमा बुझ्न त सकिनन् तर अब बिर्खेले उनलाई अन्जान ठाउँमा एक्लै छोडेर गएको कुराले छाँगाबाट खसे जस्तो भएर बेसरी अतासिदै डाँको छोडेर रुन थालिन् । ती अर्की महिलाले मिनालाई समातेर अर्को कोठामा लगिन् र धेरै सम्झाउने कोसिश गरिन् । ‘म पनि तिमी जस्तै दुष्ट पापीको फन्दामा परेर बेचिन पुगेकी हुँ । अब जति रोए पनि कराए पनि हाम्रो आवाज सुन्ने कोही हुँदैन’ ।

मिनालाई त्यहाँ धेरै यातना दिँदै अस्मिता लुटिँदै गयो । अस्वीकार गर्दा चुरोटका ठुटाले अंग-अंग पोली दिन्थे । आफ्नो गाउँ, साना-साना भाइ-बहिनी र आमालाई सम्झेर कति रोइन उनी । उनैको सुन्दर भविष्य बनाउने र हराएको बाबालाई खोजेर घर लैजाने मिठो सपना आज यसरी चकनाचुर भएको थियो । अब मिनालाई त्यो नर्कमा जिउने मन पटक्कै थिएन । बारम्बार मर्नुभन्दा एकै पटक मर्न चाहन्थिन् तर खोजेको बेला कालले पनि साथ नदिने रहेछ । पंखामा झुण्डिएर मर्न खोज्दा उनको सल च्यातियो, लडेर भुइँमा झरिन् । झ्यालबाट हाम फाल्न नखोजेकी पनि हैनन् तर सबै बन्द थिए । एउटा बन्द कोठामा आफ्नो भाग्यलाई धिक्कार्दै रुँदै कराउँदै छटपटीँदै जिउँदो लाश बनेर बाँच्न बाध्य भइन् ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

रचनकार : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen