सम्पिडायग्नोसिस
feather icon प्रकाशन मिती: २०७२ माघ १६ गते

उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आफ्नो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत युद्ध’ लेखाउन बिर्सने छैन । अस्पतालको चार्ट होल्डरमा रोगीको असामान्य विवरण पढेर म आफ्नो युगको तर्फबाट छक्क पर्नेछु ।

रोगीमाथि म आँखा उचाल्नेछु । नौ फुटको अग्लाइबाट रोगीले मेरो साढे पाँच फुटको होचाइलाई घुरिरहेको पाउनेछु । डाक्टर भए पनि म आत्तिनेछु ।

“के भयो तपाईंलाई ?” हडबडाउँदै सोध्नेछु । “शरीरमा अजम्मरी पीडा हुन्छ ।” बाघ गर्जे जस्तो स्वरमा रोगीले भन्नेछ । “अजम्मरी पीडा ?” म फेरि छक्क परेर आँखा उचाल्नेछु ।

“हजुर…..।” ऊ सविनय गर्जनेछ, “विगत ६ हजार वर्षदेखि मेरो सर्वाङ्गमा नयाँ कोषहरू जन्मने र पिपग्रस्त भई मर्ने प्रकृया जारी छ । परिणाम अपार पीडा र यन्त्रणा भएको छ ।”

“के कारण यस्तो भयो ?” हडबडाउँदै म सोध्नेछु ।

“थाहा छैन ? तपाईंले महाभारत ग्रन्थ पढ्नुभएको छैन ?” रोगीले उल्टो प्रश्न गर्नेछ ।

“पढेको छु तर…..।”

“विश्वास छैन, होइन डाक्टर ?” रोगीको प्रश्न सुनी म फेरि हडबडाउनेछु । रोगी आधा दर्जन बाघ गर्जेझैँ गरी पीडायुक्त हाँसो हाँस्नेछ । यही मौका छोपी म रोगीमाथि आँखा तिख्याउनेछु । सेतो धोती, विशाल छाती, घुँडासम्म लामा र सुगठित हातहरू, सघन दारी, मुठारेर माथि फर्काइएका जुँगा, तिखो-लामो नाक, तीक्ष्ण दृष्टि, झ्याप्प आँखिभौं, दश इन्च चौडा निधार र चुली पारिएका लामा केशराशि ! मलाई महाभारतकालीन प्रभाव पर्न थाल्नेछ ।

“महाभारत कथामा कृष्णले तपाईंलाई श्राप दिएको होइन ?” म सोध्नेछु ।

“हजुर ! मैले उत्तराको गर्भमा ब्रहृमास्त्र विकिरणका रुपमा प्रक्षेपण गरेको थिएँ । त्यो एक अप्रिय दायित्व थियो ।”

“दायित्व ?”

“हो डाक्टर ! म दुर्योधनको प्रधान सेनापति थिएँ । म सैन्यरहित भएका बेला पाण्डवहरूले राति शिविरमा भएको हत्याको बदला लिन मेरो पिछा गरे । मैले ब्रहृमास्त्र प्रहार गरें । अर्जुनले ब्रहृमशिर प्रहार गरी प्रतिकार गर्‍यो । पछि व्यासादि ऋषिका अनुरोधमा अर्जुनले आफ्नो अस्त्र वापस लियो, मैले लिइनँ ।”

“किन नि ?”

“मलाई ब्रहृमास्त्र वापस लिने विधि थाहा थिएन । थाहा भएको भए पनि वापस लिन इच्छुक थिइनँ । म पाण्डववंशको सर्वनाश चाहन्थें, त्यसैले ब्रहृमास्त्रको आग्नेय प्रभाव नियन्त्रण गरी विकिरण रुपमा त्यसलाई उत्तराको गर्भमा मोडिदिएँ । कृष्णले यो थाहा पायो, तत्क्षण ममाथि भयङ्कर शब्दास्त्र प्रहार गर्‍यो ।”

“शब्दास्त्र ?”

“हजुर । श्राप भनेको शब्दास्त्र हो । श्राप दिनु भनेको शब्दास्त्र प्रहार गर्नु हो । शब्दका ऊर्जाहरूमा विकिरण उत्सर्जित गर्ने क्षमता हुन्छ । कृष्णले मेरो शरीरका बाहृय कोषहरू घाउ पारेर सधैं पिपग्रस्त भइरहने शब्द-विकिरणास्त्र प्रयोग गरेको हो ।”

“विकिरणको बदलामा विकिरण ! के त्यो न्यायिक दण्ड थियो ?” म मुस्कुराउनेछु । रोगीलाई मेरो मीठो मुस्कान नमीठो लाग्नेछ ।

“युद्धमा विजयी बन्ने अधिकार सबैलाई छ, दण्ड दिने अधिकार कसैलाई छैन !” रोगीले भन्नेछ । यसोभन्दा उसको विशाल छातीभित्रको फोक्सो फुल्न सक्ने हदसम्म फुल्नेछ ।

“माफ गर्नुहोला…. ।” म केही आत्तिनेछु ।

“माफ नमाग्नुहोस् डाक्टर ! तपाईंले कुनै अपराध गर्नुभएको छैन ।” रोगी भन्नेछ । यसोभन्दा रोगीका घाउ परेका ओठका छेउकुनामा स्मितिका चिहृनहरू देखा पर्नेछन् ।

“ओहो, धन्यवाद !” म मुक्त हुनेछु र भन्नेछु- “कृपया त्यहाँ पल्टिनुहोस्, म तपाईंको स्वास्थ्य परीक्षण गर्नेछु ।”

रोगी बेडमा पल्टिनेछ । त्यसरी पल्टिँदा रोगीको घुँडाभन्दा तलका भागहरू बेडमा नअटाई झुन्डिनेछन् ।

म अति सूक्ष्मदर्शी कम्प्युटर चस्मा लगाई रोगीका घाउहरूको निरीक्षण गर्नेछु । मलाई रक्त अर्बुद ९ीभगपबझष्ब० र चर्म अर्बुदको शङ्का लाग्नेछ । अल्फाटाक्सिनको परिणाम भेट्ने छैन तर ओनकोजिन्सको सम्भावना भने म देख्नेछु ।

“डाक्टर ! मेरा घाउहरू निको हुन सक्छन् ?” रोगी सोध्नेछ ।

“अवश्य !” म भन्नेछु ।

“६ हजार वर्षदेखिको असाध्य पीडा, उफ् ! कसैले कसैलाई यस्तो पीडा नदेओस् ।”

“अवश्य !” म फेरि भन्नेछु ।

“मान्छेहरू भगवान् बन्न सैतान नबनून् !”

“अवश्य !” फेरि पनि म भन्नेछु ।

दुइटा बेड जोडी रोगीलाई अस्पतालको विशेष प्रकोष्ठमा राखिएपछि म उसको बायप्सी परीक्षण गर्नेछु । म रोगीमाथि सी.टी. स्केनिङ, लेसर सर्जरी र केमोथेरापीका विधिहरू पनि प्रयोग गर्नेछु । ल्ःच् क्उभअतचयकअयउथ गरी म रोगीको शरीरका आन्तरिक अवयवहरू हेर्नेछु । रोगीका घाउ र पीडाहरूमा कुनै परिवर्तन देखा नपरेपछि म पुर्पुरो समात्नेछु ।

“के भयो डाक्टर ?” रोगी सोध्नेछ । रोगीले नसोध्दै मलाई लाग्नेछ- उसका घाउ र पीडा ‘महाभारत मनोभ्रम ग्रन्थि’का सृजना हुन् । विभ्रम सत्य भयो भने सत्य विभ्रम हुन्छ । जुन दिन रोगी विभ्रमित अश्वत्थामा बाँच्न छोड्नेछ, त्यसै दिनदेखि उसका घाउहरू भरिँदै जानेछन्, पीडाहरू हराउँदै जानेछन् । म सोच्न थाल्नेछु ।

“तपाईंको घाउ र पीडाको सम्बन्ध तपाईंको कथासित छ । पहिले कथा सक्नुहोस् !” म आग्रह गर्नेछु । मलाई विश्वास लाग्नेछ, ‘होइन, होइन’ (नेतिनेति)बाट कुरा थाल्नेहरू ज्ञानको ‘हो’सम्म पुग्न सफल भए भने ‘हो’बाट कुरा थालेर म विज्ञानको ‘होइन’सम्म पुग्न सक्नेछु ।

“डाक्टर, मैले मेरो कथा भनिसकें । कृष्णको श्रापास्त्र याने शब्द विकिरणास्त्र….”

“एकछिन, एकछिन !” म रोगीको कुरालाई बीचमा काटी सोध्नेछु- “महाभारतको युद्धमा कृष्णले शस्त्रास्त्र नचलाउने प्रतिज्ञा गरेका थिए, होइन ?”

“हो !”

“तब तपाईंमाथि किन शब्दास्त्र प्रयोग गरे त ?”

“प्रतिज्ञाहरू गर्दै प्रतिज्ञाहरू तोड्नु कृष्णको स्वभाव थियो । ऊ नभएको भए महाभारत युद्धको परिणाम अर्कै हुन्थ्यो ।”

“तपाईंको आशय…. के कृष्ण महाभारत युद्धका निर्णायक पुरूष थिए ?” म रोगीलाई महाभारतकालीन मनोभावहरू जम्मै ओकल्न प्रेरित गर्नेछु ।

“त्यस बेला भन्न सकिँदैनथ्यो तर अहिले भन्न सकिन्छ- कृष्ण निर्णायक पुरूष थियो !” पक्का उत्प्रेरित भई रोगीले भन्नेछ ।

“तर कृष्णले कुरूक्षेत्रको मैदानमा युद्ध नै गरेनन्, होइन र ?” म जिज्ञासा प्रकट गर्नेछु ।

“डाक्टर, महायुद्ध कुरूक्षेत्रको मैदानमा होइन, विचारको मैदानमा लडिन्छ । कृष्णले प्रत्यक्ष युद्ध नगरी सबभन्दा बढी युद्ध गर्‍यो ! त्यस युद्धको आरम्भ कुरूक्षेत्रमा भएको पनि थिएन । त्यहाँ त युद्धको अन्त्य मात्र भएको थियो ।”

“आरम्भ कहाँ भएको थियो त ?” म रोगीलाई हौस्याउँछु ।

“महाभारत युद्धको आरम्भ सय भाइ कौरवका पितामाता धृतराष्ट्र-गान्धारी र पाँच भाइ पाण्डवका पितामाता पाण्डु-कुन्तीका मनमस्तिष्कमा भएको थियो, राजनीतिक कारणले !”

“साँच्चै ?”

“म आफ्नो युगको अप्रिय सत्य भन्दै छु । दुवै पक्ष राज्यको उत्तराधिकारी जेठो छोरो जन्माउने होडबाजीमा लागे । होडबाजीको परिणामस्वरुप धृतराष्ट्र-गान्धारी पक्षले सय घडापुत्रहरू जन्माए, पाण्डु-कुन्ती पक्षले पाँच मन्त्रपुत्रहरू जन्माए ।”

“घडापुत्रहरू…. मन्त्रपुत्रहरू ?” म हाँस्न थाल्नेछु ।

“नहाँस्नुहोस् डाक्टर ! घडापुत्रहरू भनेको ‘टेस्ट टयुब बेबिज्’ हुन् ।”

“अनि ‘मन्त्रपुत्रहरू’ भनेको ?”

“योचाहिँ ‘टेलिप्याथिक बेबिज्’ ! कुन्तीले इच्छित व्यक्तिहरूलाई टेलिप्याथीको माध्यमले आमन्त्रण गरी ऋतुदान मागेकी हुन् । तपाईंलाई थाहा हुनुपर्छ डाक्टर, सम्भोग गर्ने निम्ता पाउँदा सम्भोग नगर्नेहरू त्यस युगमा पनि एक-दुई जना थिए, अहिले पनि एक-दुई जना होलान् ।” रोगी अनुहारभरि छरपस्टिएका घाउका पिप चुहाएर हाँस्नेछ । म पनि हाँस्नेछु ।

“टेस्ट टयुब बेबिज्…. टेलिप्याथिक बेबिज्- के त्यस युगको विज्ञान यति उन्नत थियो ?” म आफ्नो युगको शङ्का पोख्नेछु ।

“यो कुरा मेरो शरीरका घाउ र पीडाहरूलाई सोध्नुहोस् डाक्टर ।” रोगी पीडाले गर्जनेछ, “म प्राचीन विज्ञानले दिएका घाउहरूलाई आधुनिक विज्ञानले निको पारेको देख्न चाहन्छु ।”

“धैर्य गर्नुहोस्, निको हुनेछ !” म आश्वासनका शब्दहरू उच्चारण गर्नेछु ।

“डाक्टर, कृष्णका शब्द विकिरणद्वारा प्रभावित भएपछि म पुरू ययातिका हारमोन्स साटफेर गरी प्रतिरोपण गर्ने प्राचीन चिकित्सककहाँ गएँ, राजकुमारी अम्बाको लिङ्ग परिवर्तन गर्ने यक्ष चिकित्सककहाँ गएँ- कसैले पनि मेरो शरीरलाई श्रापास्त्र विकिरणमुक्त पार्न सकेन । तपाईंको विचारमा मलाई के भएको छ ?”

“पुरानो भएको कुनै इन्फेक्सन…. क्यान्सर…. लेप्रोसी… हुन सक्छ ।” म गोलमाल उत्तर दिनेछु ।

“डाक्टर, म एक चिरञ्जीवी पुरूष हुँ । मेरो शरीरमा पूर्ण क्षयीकरणको जैविक प्रकृया उत्पन्न हुँदैन । ६ हजार वर्षदेखि बाँचिरहेको अनुभवका आधारमा भन्छु- मेरो शरीरको प्रतिरक्षा प्रणालीले अहिलेसम्म कुनै जैविक विश्वासघात गरेको छैन । मेरो शरीरमा छुद्र रोगहरू लाग्न सक्तैनन् । रङ डायग्नोसिस् !”

रोगी खाटबाट जुरूक्क उठेर हिँड्न थाल्नेछ ।

“कहाँ जान लाग्नुभयो ?” म सोध्नेछु ।

“डाक्टर, म आफ्नो स्थानमा जाँदै छु । आजको एक हजार वर्षपछि म फेरि उपचार गर्न आउनेछु, सम्पीडायग्नोसिस हुने आशा गर्दै !”

जाँदाजाँदै रोगीले भन्नेछ । म हाइपोथेल्मसछेउ पिटयुटरी ग्रन्थिमा ह्रासोन्मुख कम्पन उत्पन्न भएर आफ्नो तर्फबाट, आफ्नो युगको तर्फबाट बाउन्ने हुँदै गएको अनुभव गर्न थाल्नेछु ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

अन्तर्मनको यात्रा

अन्तर्मनको यात्रा

लेखक : Jagdish Ghimire

मिती : 2012

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

रचनकार : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

मुना मदन

मुना मदन

रचनकार : Laxmi Prasad Devkota

प्रकाशन: Evergreen